अन्तर्राष्ट्रिय

भूलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति

इरानमा गत बुधबार दुर्घटनामा परेको युक्रेन इन्टरनेसनल एयरलाइन्सको उडान नम्बर पिएस७५२ विमानको भग्नावशेष। तस्बिर : एजेन्सी

तेहारन (बिबिसी) – १ सय ७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी विमान दुर्घटना ‘भूलवस खसालिएको’ इरानले स्वीकारेको छ।

‘एउटा अनुसन्धानअनुसार मानवीय त्रुटिका कारण प्रहार गरिएको क्षेप्यास्त्र लागेर विमान दुर्घटना भएको पाइएको छ,’ इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। उनले विमान दुर्घटना ‘माफी दिन नमल्निे खालको गल्ती भएको’ भनेर व्याख्यासमेत गरेका छन्। उक्त घटनालाई ‘ठूलो विपत्ति र अक्षम्य गल्ती’ भन्दै राष्ट्रपति रौहानीले दोषीको खोजी भइरहेको र उनीहरुमाथि कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।

इरानका राष्ट्रपति हसन रौहानीले सेनाको आन्तरिक छानबिनमा ‘मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना भएको र विमानमा सवार १ सय ७६ जना निर्दोष मानिसको मृत्यु भएको’ निष्कर्ष निस्किएको विवरणसहितको एउटा ट्विट पनि गरेका छन्।

विमान इरानी रिभोलुस्नरी गार्ड्सको संवेदनशील क्षेत्रतर्फ मोडिएपछि गल्तीले क्षेप्यास्त्र प्रहार गरिएको सेनाले बताएको छ।

यसअघि इरानी क्षेप्यास्त्रका कारण अमेरिकामा निर्मित युक्रेनी एयरलाइन्सको बोइङ विमान बुधबार तेहरानमा दुर्घटनाग्रस्त भएको संकेत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरुले बताएका थिए। तेहरानले भने त्यसको खण्डन गरेको थियो।

इरानी अधिकारीहरुले पश्चिमा देशको आरोपलाई ‘हास्यास्पद’ भन्दै त्यो अमेरिकाको ‘मनोवैज्ञानिक कारबाही’ को अंश भएको दाबीसमेत गरेका थिए। तर ‘सम्भवतः त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको’ अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबाबमा परेको थियो।

युक्रेन इन्टरनेसनल एयरलाइन्सको उडान नम्बर पिएस७५२ लाई बुधबार खसाल्नु भन्दो केही घण्टाअघि इरानले इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको थियो।

अमेरिकी ड्रोन हमलाका कारण जनवरी ३ मा आफ्ना उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएको प्रतिक्रियास्वरुप इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
‘भूलवस भएको दुर्घटना भनेर इरानले भने पनि’ युक्रेनी एयरलाइन्सको सो विमान दुर्घटनाका कारण दर्जनौं इरानी र क्यानाडेली नागरिकसहित युक्रेन, बेलायत, अफ्गानिस्तान र जर्मनीका नागरिक मारिएका थिए।

के भन्यो इरानले ?
पश्चिमा राष्ट्रको व्यापक दबाबपछि शनिबार बिहान इरानी सेनाको विज्ञप्ति राज्य सञ्चालित टेलिभिजनमार्फत् पढिएको थियो। विज्ञप्तिमा युक्रेन एयरलाइन्सको उडान नम्बर पिएस७५२ मा गल्तीले क्षेप्यास्त्र प्रहार भएको उल्लेख गरिएको थियो।

इरानी सेनाले विमान रिभोलुस्नरी गार्ड्सको ‘संवेदनशील सैन्य केन्द्र’तर्फ मोडिएपछि देशको इस्लामिक प्रणालीको सुरक्षाका लागि गल्तीले क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ। अमेरिकासँगको बढ्दो तनावकै बेला ‘इरान उच्च तयारी अवस्थामा रहेकै बेला’ यस्तो दुर्घटना भएको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो तनावपूर्ण अवस्थाका कारण मानवीय त्रुटि र भूलवस युक्रेनी विमानमा प्रहार भएको हो।’

यात्रुवहाक विमान खसालिएको प्रति इरानी सेनाले माफीसमेत मागेको छ। उसले अबका दिनमा यस्ता गल्ती नहुन् भनेर आफ्नो सुरक्षा प्रणालीलाई स्तरोन्नती गर्नेसमेत बताएको छ। सेनाले पनि विज्ञप्तिमार्फत घटनामा सहभागी दोषीलाई कारबाही गरिने दोहो-याएको छ।
‘विमान दुर्घटना’ का लागि फौजले नै पूर्णजिम्मेवारी लिने रिभोलुस्नरी गार्ड्सका एरोस्पेस कमान्डर बिग्रेडिएर जनरल अमिर अली हाजिजादेहले बताएका छन्।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले विमान दुर्घटना के कति कारणले भयो भनेर अनुसन्धान गर्न देशको सेनालाई आदेश दिएका छन्।

युक्रेनी_विमान दुर्घटना