अन्तर्राष्ट्रिय

'बोइङ ‘तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो’

इरानको राजधानी तेहरानमा मंगलबार दुर्घटनामा परेको बोइङ ७३७–८०० विमानको भग्नावशेष। तस्बिर : एजेन्सी

तेहरान (बिबिसी)– इरानको राजधानी तेहरानमा मंगलबार दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयास गर्दागर्दै दुर्घटनामा परेको विवरण अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन्।

अमेरिकी कम्पनी बोइङ ७३७–८०० विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालकदलसहित सबै १ सय ७६ यात्रुको मृत्यु भएको थियो। दुर्घटना हुनुको कारणबारे गरिएको प्रारम्भिक छानबिनअनुसार उड्न लाग्दा विमानमा केही समस्या भएको र ‘आगो लागेको’ थियो।

इरानले विमानको ‘ब्ल्याकबक्स’ बोइङ कम्पनी वा अमेरिकालाई नदिने घोषणा गरिसकेको छ। अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार इरानले छानबिनको नेतृत्व गर्न पाउँछ। तर प्रायः विमान निर्माता कम्पनीलाई अनुसन्धानमा सहभागी गराइन्छ।

अमेरिका र इरानबीच तनाव चुलिएको बेला इरानको राजधानीमा मंगलबार सो भयानक दुर्घटना भएको थियो। दुर्घटना हुनुभन्दा केही घण्टाअगि इरानले इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो। क्षेप्यास्त्र आक्रमण र विमान दुर्घटनाबीच सम्बन्ध भएको कुनै प्रमाण भने भेटिएको छैन।

‘विमानस्थलबाट पहिला पश्चिमतिर लागेको उक्त विमान केही समस्या भएपछि दाहिने मोडियो र दुर्घटना हुँदा विमानस्थलतिर फर्किएको थियो,’ इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुख अली आबेद्जादेहलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। उनका अनुसार प्रत्यक्षदर्शीले जमिनमा खस्नुअघि विमानमा आगो लागेको देखेका थिए तर विमानलाई इमाम खोमेनी विमानस्थलतिर फर्काउने प्रयास गर्नुअघि चालकले आसन्न संकटबारे कुनै सूचना दिएका थिएनन्।

प्रारम्भिक छानबिनमा पत्ता लागेका विषय युक्रेन र बोइङ कम्पनीलाई उपलब्ध गराइएको उनले बताए। विमान दुर्घटनामा स्विडेन र क्यानडाका नागरिक पनि परेकाले ती देशलाई पनि विवरण दिइएको छ। विमान दुर्घटनापछि युक्रेनले बिहीबार एक दिन राष्ट्रिय शोक मनाएको छ।

कसले गर्दैछ दुर्घटनाको छानबिन ?
अमेरिकामा निर्मित बोइङ विमान दुर्घटनामा पर्दा प्रायः ‘युएस नेसनल ट्रान्स्पोर्टेसन सेफ्टी बोर्ड’ छानबिनमा संलग्न हुन्छ। तर त्यसका लागि सम्बन्धित देशबाट अनुमति लिनुपर्छ र त्यो देशको कानुन पालन गर्नुपर्छ। तर इरानका अधिकारीहरुले विमान निर्माता कम्पनी बोइङ र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने बताएका छन्। इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई उद्धृत गर्दै इरानी समाचारसंस्था मेहरले भनेको छ, ‘यो दुर्घटनाको इरानको उड्डयन प्राधिकरणले छानबिन गर्नेछ तर युक्रेनी पनि उपस्थित हुन सक्छन्।’ तर उनका अनुसार विमानको ब्ल्याकबक्समा भएका ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डेटा रेकर्डको कुन देशमा अध्ययन गर्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका छन् भने विमान उत्पादक कम्पनी बोइङले आवश्यक सहयोग गर्न आफू तयार भएको बताएको छ।

क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन्।

विमानमा को थिए ?
तेहरानबाट युक्रेनका राजधानी किएभका लागि उडेको ‘युक्रेन इन्टरनेसनल एयरलाइन्सको ७५२ विमान’ मा चालकदका सदस्यसहित कुल १७६ जना सवार थिए। अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका पनि रहेको एयरलाइन्सले बताएको छ।

तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लिएको थियो।

‘फ्लाइटरेडार वेबसाइट’का अनुसार विमान दुर्घटना भएको बेलामा तेहरानको ‘विमान भिजिबिलिटी’ अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ। यसैबीच, छानबिनको औपचारिक प्रतिवेदन नआएसम्म दुर्घटनाको कारणबारे अनुमान नगर्न युक्रेनी राष्ट्रपतिले आग्रह गरेका छन्। इरानी सञ्चारमाध्यमले प्राविधिक कारणले विमान दुर्घटनामा परेको भन्दै एक अधिकारीलाई उद्धृत गरेका छन्।

मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले विमान दुर्घटनामा ‘आतंकवाद’ को भूमिका नभएको जनाएका छन्। दुई देशबीच तनाव चरमोत्कर्षमा पुगेका बेला इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको छ।

प्रकाशित: २५ पुस २०७६ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App