अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको डढेलोका लागि २४ जना दोषी: प्रहरी

डढेलोका कारण ध्वस्त भएको एडिलेडबाट दक्षिणपश्चिममा पर्ने कंगारु टापुमा पर्ने फ्लिनडर्स चेज राष्ट्रिय निकुञ्ज। तस्बिर:एजेन्सी

सिड्नी – अस्ट्रेलियाली इतिहासकै सर्वाधिक ठूलो डढेलोका लागि कम्तीमा २४ जना दोषी रहेको प्रहरीले जनाएको छ। खडेरी र अत्याधिक तातोका कारण देशव्यापी प्रकोपका रूपमा फैलिएको अस्ट्रेलियाली डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ भने हजारौं प्रभावित बनेका छन्।

गत सेप्टेम्बर महिनादेखि लागेको डढेलोका कारण मानिसमात्रै नभई ५० करोडको हाराहारीमा जनावरसमेत मरेको विवरण बाहिरिँदै गर्दा न्यु साउथ वेल्स राज्यमा जानाजानी डढेलो लगाएको भन्दै प्रहरीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

न्यु साउथ वेल्स राज्यको प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा डढेलो लगाउन सहभागी भएका अन्य १ सय ८३ जनाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको जानकारी पनि दिइएको छ। प्रहरीका अनुसार नोभेम्बर ८ देखि हालसम्म आगलागीसँग सम्बन्धित विषयमा कानुनी कारबाहीको थालनी गरिएकामध्ये ४० जना नाबालिग छन्। यद्यपि उनीहरुलाई भने प्रहरीले चेतावनीदेखि आपराधिक आरोपसम्म लगाएर कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको विज्ञप्तिमा जनाइएको छ।

१ सय ८३ मध्ये ५३ जनालाई आगो लगाउन  गरिएको प्रतिबन्ध उल्लंघन गरेको अभियोगमा चेतावनी वा आपराधिक मुद्दा लगाइएको छ भने ४७ जनामाथि भने जमिनमा चुरोट वा सलाई सल्काएको भन्दै अभियोग लगाइएको न्यु साउथ वेल्सको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डढेलोले अस्ट्रेलियाको लगभग सबै राज्यलाई छोएको भए पनि सबैभन्दा प्रभावित भने न्यु साउथ वेल्स भएको छ। कैयौं महिनादेखि अस्ट्रेलियामा डढेलो लागिरहेको छ, जसका कारण हजारौं मानिस घरबारविहीनसमेत बनेका छन्। आगलागीकै कारण कैयौं सहरसमेत ध्वस्त भएका छन्।

लगभग एक करोड ८० लाख एकर जमिन आगोले जलेको छ। प्रहरीले न्यु साउथ वेल्स राज्यभर नै आगो लगाउन प्रतिबन्ध गर्ने तयारीसमेत गरिरहेको छ। आइतबारमात्रै पनि प्रहरीले एक मानिसलाई डढेलो लगाएको भन्दै मुद्दा दायर गरेको थियो। ती मानिसले चलाएको ऊर्जासम्बन्धी एउटा उपकरणका कारण माउन्ट ड्रुइटमा आगलागी सुरु भएको भन्दै न्यु साउथ वेल्स प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अस्ट्रेलियाको धुवाँ दक्षिण अमेरिका पुग्यो
अस्ट्रेलियाली डढेलोका कारण उत्पन्न धुवाँ दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीले मंगलबार दिएको जानकारीअनुसार अस्ट्रेलियाको धुवाँ दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको हो। ‘गत सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकासमा धुवाँका भुल्कोहरु देख्न थालेका छौं,’ उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

अस्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुवाँले त्यस क्षेत्रका अन्य देशसमेतमा असर पारेको छ। उरुग्वे मौसम विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अस्ट्रेलियाबाट आएको धुवाँले उरुग्वेको वायुमण्डलसमेतलाई प्रदूषित गराएको छ। धुवाँकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको उनले स्पष्ट पारेका छन्। अस्ट्रेलियाको धुवाँ प्रशान्त महासागर हुँदै झण्डै १३ हजार किलोमिटर पर दक्षिण अमेरिका आइपुगेको उनले बताए। गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ।

प्रकाशित: २४ पुस २०७६ ०१:२५ बिहीबार

अस्ट्रेलिया डढेलो