अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिए

त्रिपोली – लिबियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिएका छन्। शनिबार अबेर राजधानी त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ। सो आक्रमणबाट अरु ३३ जना घाइते भएको लिबियाका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

‘प्रारम्भीक विवरणअनुसार घटनामा परी कम्तीमा ३० जना मारिएका छन् भने अरु ३३ जना घाइते भएका छन्,’ लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त लिबियाली सरकारले जारी गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले आक्रमण गरेको जनाइएको छ। सैनिक विद्यालयलाई नै लक्षित गर्नुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन।

राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीको फोटो राखेको छ। आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। लिबियामा चलिरहेको द्वन्द्वका कारण हजारौंको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।

प्रकाशित: २१ पुस २०७६ ०१:४७ सोमबार

हवाई_आक्रमण लिबिया