अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु

मनिला – फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ। चर्चित पर्यटकीय ग्रामीण क्षेत्रमा क्रिसमसको दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो। हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेको जनाइएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिएका छन्। प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको छ।

कतिपय ठाउँमा भौतिक संरचनामा क्षतिसमेत भएको अधिकरीहरुले जनाएका छन्। त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान र यातायात सेवासमेत रद्द भएका छन्। खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो। फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौंको मृत्यु हुने गरेको छ। फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो। उक्त समयमा सात हजार तीन सय जनाको मृत्यु भएको थियो।

प्रकाशित: १४ पुस २०७६ ०२:०२ सोमबार

फिलिपिन्स आँधी