अन्तर्राष्ट्रिय

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

नान्गाहार- अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्।

सो प्रान्तमा रहेका आइएस र तालिबानी लडाकूविरुद्ध विशेष सुरक्षाबलले सुरक्षा कारवाही जारी राखेकै बेला १३ आइएस सदस्यले आत्मसमर्पण गरेका हुन्।

सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार आइएस लडाकूका कमाण्डरसहित कम्तीमा १३ जनाले आत्मसमर्पण गरेका हुन्। स्थानीय कमाण्डरसहित १३ जना लडाकूले दक्षिणतर्फ पर्ने सो प्रान्तमा रहेको सेनाको एक ब्यारकेमा आएर आत्मसमर्पण गरेको सुरक्षा अधिकारीले जनाएका छन्।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको जनाएको छ। लडाकूहरुलाई आत्मसमर्पण गर्ने बाहेकको अर्को कुनै पनि विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूले सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका थिए। सो आतङ्ककारी समूहमा लागेका महिला तथा केही बाल सैन्यसमेत गरी ६५० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए। सिन्ह्वा

प्रकाशित: २८ मंसिर २०७६ १४:४४ शनिबार

अफगानिस्तान आइएस आत्मसमर्पण