अन्तर्राष्ट्रिय

कामुरी आँधीका कारण हजारौं विस्थापित

मनिला – फिलिपिन्समा कामुरी नामको आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन्। यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बताइएको छ। अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन्। हाल सो शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ। यसबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्वतयारी थालेका छन्।

मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले उक्त आँधी प्रति घन्टा कम्तीमा पनि एक सय ८५ किलोमिटरका दरले आउने अनुमान गरेका छन्। आँधीका कारण सोमबार अबेरतिर मनिलाको छेउछाउ पहिरो पनि जान सक्ने भन्दै शतर्कता अपनाइएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सोमबार राति अबेर र मंगलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान मौषमविद्हरुले गरेका छन्। आँधीका कारण मंगलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरुको छ।
आँधी र यसका साथमा भारी वर्षा हुने अनुमान पनि गरिएको छ। वर्षात्सँगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले पूर्वतयारी गरेको बताइएको छ। कामुरी आँधी राजधानी मनिला प्रवेश ग¥यो भने कम्तीमा पनि एक करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुने बताइएको छ।

मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भइसकेका छन्। उक्त क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो। उक्त क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरुले भविष्यवाणी गरेका थिए।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ। यहाँ वर्षेनी साना ठूला गरी २० वटा जति आँधी आउने गरेको छ। त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन्। सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार तीन सय नागरिकको मृत्यु भएको वा हराएका थिए। यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो।

प्रकाशित: १७ मंसिर २०७६ ०२:०७ मंगलबार

कामुरी_आँधी विस्थापित