अन्तर्राष्ट्रिय

बंगलादेशमा अतिवादी समूहका सात जनालाई मृत्युदण्डको सजाय

ढाका– बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आवद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

राजधानी ढाकाको एक खचाखच भरिएको आतंकवाद–विरोधी इजलासमा न्यायाधीश मोजिबुर रहमानले सातै जनालाई मृत्युदण्ड दिने सजाय सुनाएका थिए। न्यायाधीश रहमानले इस्लामिक स्टेट समूहमा आवद्ध रहेर उक्त समूहका सदस्यहरुले बंगलादेशमा आतंक मच्चाउन खोजेको बताएका थिए।

न्यायाधीश रहमानले सातै जनालाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएका छन्। प्रहरी भ्यानमा राख्नुअघि उनीहरुले इस्लाममाथि आफूहरुको आस्था रहेको र भगवान महान हुनुहुन्छ भन्दै चिच्याएका थिए। एएफपी

प्रकाशित: ११ मंसिर २०७६ १२:४० बुधबार

बंगलादेश मृत्युदण्ड सजाय