अन्तर्राष्ट्रिय

महिला हिंसा अन्त्य गर्न आह्वान

न्युयोर्क – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्यका लागि आह्वान गरेका छन्।

महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिला हिंसा अन्त्य गर्ने अभियानलाई सरोकारवाला सबै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिएका छन्। ‘सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आमनागरिकलाई हातेमालो गरेर महिला हिंसाविरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले दिएको शुभकामना सन्देश उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

गुटेर्रेसले महिला हिंसाविरुद्ध अभियान चलाइरहेकाप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गरेका छन् र महिला अधिकार र समानताका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘हामीले यौनिक हिंसा, बलात्कारजस्ता घटना अन्त्य गर्न मिलेर काम गर्नुपर्छ,’ शुभकामना सन्देशमा भनिएको छ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राष्ट्र संघ पूर्णप्रतिवद्ध रहेको पनि महासचिव गुटेर्रेसले बताएका छन्।

विश्वभरका हरेक तीन महिलामध्ये एक महिला हिंसाबाट प्रभावित भएको पाइएको पनि उनले शुभकामना सन्देशमा जानकारी दिएका छन्। यस वर्षपनि अघिल्ला वर्षमा झै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको १६ दिने अभियान मंगलबार सुरु भएको छ।

प्रकाशित: ११ मंसिर २०७६ ०१:५० बुधबार

महिला_हिंसा