अन्तर्राष्ट्रिय

आठ सुरक्षाकर्मीको मृत्यु

निली, अफगानिस्तान- अफगानिस्तानको केन्द्रिय प्रान्त दैकुन्दीको कजरान जिल्लामा आइतबार सशस्त्र विद्रोही समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता सकिनी एहसानीले पुष्टि गरेका छन्।

तालिबानी विद्रोहीको एउटा समूहले स्थानीय समयअनुसार बिहान १ बजे कजरान जिल्लाको दुआजादा इमाम र ताङ्गासुफ इलाकाहरुमा रहेका सुरक्षाचौकीमा हमला गरेर चार घण्टासम्म झडप जारी राखेका एहसानीले सिन्हवा समाचार समितिलाई बताएका छन्।

आतङ्ककारी आक्रमण र त्यसपछिको झडपमा परी प्रहरी र सेनासहित आठ सुरक्षाकर्मी मारिनुको साथै अन्य तीन घाइते भएका बताइएको छ। तर यस आक्रमणको सयममा तालिवान लडाकूहरुतर्फ भने हताहत भए भएन सोको सही तथ्य प्राप्त हुन नसकेको बताइएको छ।

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ९० किलोमिटर पश्चिममा रहेको दैकुन्दी प्रान्त प्रान्तीय राजधानी निली शांतिपूर्ण रहेको मानिन्छ। यद्यपी छिमेकीमा पर्ने उरुगान प्रान्तमा सक्रिय तालिबानी लडाकू समूहले कहिलेकाँही सुरक्षाबलमाथि आक्रमण गर्दै आएको पाइन्छ। सिन्ह्वा

प्रकाशित: ८ मंसिर २०७६ ११:३६ आइतबार

सुरक्षाकर्मी मृत्यु