अन्तर्राष्ट्रिय

काबुल सैनिक केन्द्रमा ग्रिनेड आक्रमण

काबुल (एजेन्सी) – अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको मूल प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको अफगान सेनाले जनाएको छ।

अज्ञात व्यक्तिले गरेको सो आक्रमणबाट कम्तीमा चार जना अफगान सैनिक र एक जना सर्वसाधारण घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता नसत राहिमीले सुरुमा आत्मघाती हमलाको शंका गरिए पनि अनुसन्धानबाट दुई वटा हाते ग्रिनेड फालेको पत्ता लागेको जानकारी दिएका छन्। सो घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

अफगानिस्तानका विद्रोही समूह तालिबान र इस्लामिक स्टेटले अफगान सैनिक र सरकारी कार्यालयलाई लक्षित गरी नियमित रूपमा आक्रमण गरिरहेको पाइन्छ। काबुलमा केही दिन अघिमात्र सुरक्षा कार्यालयलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा १२ जनाको मृत्यु भएको थियो।

अफगान राष्ट्रपति असरफ घानीले गत साता तीन जना प्रमुख तालिबान नेताहरुलाई बिना शर्त रिहा गर्ने घोषणा गरेका थिए तर पछि उनीहरुलाई फेरि आवश्यक प्रक्रिया बाँकी रहेको भन्दै कारागारमै फिर्ता लगिएको थियो।

यी तीन जना विद्रोहीलाई तालिबान समूहले कब्जामा राखेका काबुलस्थित अमेरिकन विश्वविद्यालयका दुई प्राध्यापकको रिहाईको बदलामा मुक्त गर्न खोजिएको थियो। यी दुई प्राध्यापकलाई सन् २०१६ मा तालिबानले अपहरण गरेको थियो।

रिहा गर्न लागिएका तीन विद्रोहीमध्ये एक तालिबानका उपप्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनास हक्कानीसमेत रहेका छन्। सिराजुद्दीनले अफगानिस्तानको लडाकु समूह हक्कानी नेटवर्ककको पनि नेतृत्व गरिरहेका छन्।

प्रकाशित: ३ मंसिर २०७६ ०२:५० मंगलबार

ग्रिनेड_आक्रमण