अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

नयाँ दिल्ली (एजेन्सी) – भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन्। यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्थानीय समयअनुसार बिहानको समयमा दुर्घटना भएको हो। दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि दुई सय ६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीको भनाइ छ।

‘एउटा बस र एउटा ट्रक आज बिहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् र ११ जनाको मृत्यु भएको छ भने अरू २० जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले भने।

उनका अनुसार घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ र तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ।

भारतमा यस्ता सवारी दुर्घटनाका कारण बर्षेनी हजारौंको मृत्यु हुने गरेको छ। चालकको लापरबाही, खराब अवस्थाको सडक र पुराना सवारी साधनलगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुने गरेको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०२:३९ मंगलबार

सवारी_दुर्घटना राजस्थान