अन्तर्राष्ट्रिय

सार्वजनिक सुनुवाइकै बीच नयाँ दाबी

वासिङ्टन (बिबिसी) – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ।

उनीमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ। यद्यपि ट्रम्पले भने त्यस्तो आरोपलाई अस्वीकार गरेका छन्।

ट्रम्पमाथि लागेका आरोपबारे अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाण अब प्रत्यक्ष रूपमा प्रसारण गरिने बताइएको छ।

ट्रम्प महाभियोग अनुसन्धानका लागि गरिएको पहिलो सुनुवाइमा युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलरले बयान दिएका छन्।

बयान दिँदै ती अमेरिकी कूटनीतिज्ञ टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिद्वन्द्वी जो बाइडनबारे अनुसन्धान गर्न युक्रेनलाई प्रत्यक्ष रूपमै आग्रह गरेको खुलासा गरेका छन्।

युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत टेलरले महाभियोग अनुसन्धानसमक्ष आफ्ना कर्मचारीलाई राष्ट्रपति ट्रम्प आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई लिएर युक्रेनले अनुसन्धान गरोस् भन्ने तीव्र चहान राख्थे।

बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको जिकिर गरेका थिए।

राष्ट्रपति ट्रम्पले भने यस विषयमा आफ्नो केही भनाइ नरहेको र आफूले केही गल्ती पनि नगरेको जिकिर गरेका छन्।

डेमोक्र्याट बाइडनले आगामी वर्ष अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। निर्वाचन जित्नका लागि कुनै पनि विदेशी शक्तिलाई सहयोग माग्नु गलत कार्य भएको भन्दै ट्रम्पविरुद्ध महाभियोग अनुसन्धान चलिरहेको छ, जसअन्तर्गत पहिलो सुनुवाइ भएको हो।

बाइडनविरुद्ध भ्रष्टाचार अनुसन्धान गर्नेबारे सार्वजनिक घोषणा गर्न ट्रम्पले युक्रेनका नवनिर्वाचित राष्ट्रपतिलाई दबाब दिएको र त्यसो नगरिए युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोक्ने चेतावनी दिएको आरोप लागेको छ। यसै आरोपलाई लिएर उनीमाथि अनुसन्धान भइरहेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले भने अनुसन्धानलाई वाहियात कदमको संज्ञा दिँदै आएका छन्।

रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षले महाभियोग अनुसन्धानको सुनुवाइ प्रक्रिया सुरु भएदेखि नै उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्। ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनीविरुद्ध डेमोक्र्याटहरुले ‘कू’ को प्रयास गरेको आरोप रिपब्लिकनहरुले लगाउँदै आएका छन्।

अमेरिकी संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष एवं डेमोक्र्याट नेता एडम सिफले यसअघि ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरुबीच भएको कुराकानी’को संज्ञा दिएका थिए।

सुनुवाइमा संलग्न उक्त समितिका रिपब्लिकन सदस्य एरिक साल्वेलले डेमोक्र्याटविरुद्ध मंगलबार त्यस्तै प्रकृतीको भाषा प्रयोग गरेको बिबिसीले उल्लेख गरेको छ।

कति सम्भव छ ट्रम्पविरुद्धको महाभियोग ?
अमेरिकी इतिहासमा हालसम्म दुई पटक राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको भए पनि दुवै पटक न त अभियोग पुष्टि भएको थियो न नै उनीहरु पदबाट मुक्त भएका थिए।

अमेरिकी संविधानअनुसार अमेरिकी संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग महाभियोग हो। यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यस विषयमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता अमेरिकी कानुनमा छ। तर माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ।

हालको वर्तमान अमेरिकी संसद्को अवस्था हेर्ने हो भने तल्लो सदनमा डेमोक्र्याटको बहुमत छ र माथिल्लो सदनमा रिपब्लिकन दलको बहुमत छ। तसर्थ ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुने सम्भावना कमजोर देखिन्छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App