अन्तर्राष्ट्रिय

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

ढाका (एजेन्सी) – सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

राजधानी ढाकास्थित बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङका २१ वर्षीय विद्यार्थी आबरार फाहदको हत्या भएको थियो।

भारतसँग सरकारले गरेको पानी बाँडफाँडसम्बन्धी एउटा सहमतिको उनले सामाजिक सञ्जालमार्फत आलोचना गरेका थिए। त्यसको केही दिनपछि उनको शव छात्रावासमा फेला परेको थियो। उक्त विश्वविद्यालयमा विद्यार्थीको एक समूहले फाहदलाई पिटेर हत्या गरेको बताइएको छ। उक्त घटनापछि देशभर रहेका विश्वविद्यालय र क्याम्पसमा विरोध प्रदर्शन भएको थियो।

प्रहरीले ११ जनालाई हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोप लगाएको छ। अन्यले सांघातिक आक्रमणमा सहयोग पु-याएको बताइएको छ।

यसअघि पनि बंगलादेशमा एक छात्रालाई जिउँदै जलाएको आरोपमा १६ जनालाई मृत्युदण्डको फैसला सुनाइएको थियो।

अभियोग लगाइएकामध्ये धेरै सत्ताधारी पार्टी अवामी लिगआवद्ध युवा संगठनका सदस्य रहेका बताइएको छ। हत्या गरिएका फाहद स्नातक तहमा अध्ययनरत विद्यार्थी थिए।

प्रत्यक्षदर्शीका अनुसार फाहदलाई उनको कोठाबाट राति आठ बजेतिर लगिएको र झन्डै चार घण्टा कुटपिट गरिएपछि उनको मृत्यु भएको थियो।

शव परीक्षण गरेका चिकित्सक सोहेल महमुदले शरीरभरि चोट लागेको उनको हत्या धार नभएको हतियार प्रहारबाट भएको बताएका छन्।

एक विद्यार्थीले कुटपिट भएपछि आफूले फाहदलाई देखेको बताएका छन् तर आफूमाथि आक्रमण हुने डरले उनले आफ्नो परिचय खुलाउन चाहेनन्। उक्त घटनाको विश्वविद्यालयका विद्यार्थीबाहेक शिक्षक तथा पूर्वविद्यार्थीले पनि विरोध गरेका थिए।

 

प्रकाशित: २९ कार्तिक २०७६ ०१:५३ शुक्रबार

हत्या_आरोप मुद्दा बंगलादेश_प्रहरी