अन्तर्राष्ट्रिय

क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव

जाग्रेब (एजेन्सी)– क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। अर्को वर्ष संसद्को निर्वाचन हुनुअगावै हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ।

हालका बहालवाला राष्ट्रपति कोलिन्डा ग्राबर–किटारोभिकलाई प्रधानमन्त्रीको सत्तारुढ दल एचडिजेडको समर्थन प्राप्त छ र उनी पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने छन्।

युरोपेली संघको पहिलो महिला सरकार प्रमुखसमेत रहेकी ५१ वर्षीया पूर्वकूटनीतिज्ञ कोलिन्डा नै चुनावी मतसर्वेक्षणमा अग्रस्थानमा रहेकी छन्।

उनका मुख्य प्रतिस्पर्धीमा पूर्वसमाजवादी प्रजातान्त्रिक प्रधानमन्त्री जोरान मिलानोभिक रहेका छन्। साथै यस चुनावमा लोकप्रिय लोकगायक मिरोस्लाब स्कोरो पनि स्वतन्त्र उम्मेदवारका रूपमा रहेका छन् र उनलाई दक्षिणपन्थीहरुको समर्थन प्राप्त छ।

डिसेम्बरको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा आगामी जनवरी ५ मा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ।

क्रोएसियामा राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ र संविधानअनुसार यो पद आलंकारिक हो। राष्ट्रपति मुलुकको सेनाको सर्वोच्च कमान्डर रहनुका साथै विदेश नीति निर्माणमा राष्ट्रपतिले सहयोग गर्ने प्रचलन छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:२० शुक्रबार

क्रोएसिया राष्ट्रपति_चुनाव