अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

मुम्बई – भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन्। राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन्।

मुम्बईस्थित राज भवनबाट जारी गरिएको वक्तव्यमा भारतीय संविधान बमोजिम राष्ट्रपति शासनका लागि सिफारिस गरिएको उल्लेख छ। राज्यपाल कोस्यारीले एनसिपी पार्टीलाई मंगलबार साँझ ८ बजेर ३० मिनेटसम्म सरकार गठनका लागि आवश्यक बहुमतसहित उपस्थित हुन निमन्त्रणा दिए पनि त्यो म्याद अघि नै राष्ट्रपति शासनका लागि सिफारिस गरिएको छ। राज्यपालले यस्तै अवसर शिव सेनालाई पनि दिएका थिए। राज्य विधानसभामा शिव सेना दोस्रो स्थानमा छ।

भाजपाले मुख्यमन्त्रीसहित सत्ताको नेतृत्व गर्न चाहेको छ तर शिवसेनाले यसपटक आफूले मुख्यमन्त्री पद पाउनु पर्ने दाबी गर्दै आएको छ।

राज्य विधानसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाको गठबन्धनले बहुमत स्थान जिते पनि सरकारको नेतृत्व र शक्तिको बाँडफाँडका विषयमा मतभेद चुलिएपछि सरकार गठन हुन सकेको छैन। गत अक्टोबर २४ मा घोषित परिणामअनुसार भारतीय जनता पार्टी राज्यमा एक सय पाँच स्थान जितेर पहिलो दल बने पनि शिव सेनासँग सहमति हुन नसकेपछि सरकार गठनको पहल गरेको छैन।

भाजपाले मुख्यमन्त्रीसहित सत्ताको नेतृत्व गर्न चाहेको छ तर शिवसेनाले यसपटक आफूले मुख्यमन्त्री पद पाउनु पर्ने दाबी गर्दै आएको छ।यसैबीच, शिव सेनाले आफूलाई सरकार गठनका निम्ति पर्याप्त समय नदिएको भन्दै महाराष्ट्रका राज्यपाल कोस्यारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। शिव सेनाले राज्य विधानसभाको चुनावमा दोस्रो स्थान हासिल गरेको थियो। कूल दुई सय ८८ स्थान रहेको महाराष्ट्र विधान सभामा भाजपाको एक सय पाँच, शिव सेनाको ५६, एनसिपीको ५४ र कंग्रेसको ४४ सिट छ।

शिव सेनाले एनसिपी र कंग्रेससँग मिलेर सरकार गठन गर्ने पहल थालेको छ। यी तीन दल मिलेको खण्डमा सरकार गठन हुन सक्नेछ। एनसिपी र कंग्रेसले शिव सेनालाई समर्थन गर्ने बताइ सकेका छन्।

प्रकाशित: २७ कार्तिक २०७६ ०३:४७ बुधबार

शासन सिफारिस विधानसभा