अन्तर्राष्ट्रिय

मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

उलान बटोर– मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ। 

मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा यस वर्षको जनवरीदेखि अक्टोबर महिनाभित्र करिब तीन करोड २३ लाख टन कोइला निर्यात भएको उल्लेख छ। यो कोइलामध्ये सबैजसो चीनले आयात गरेको विभागले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १४ लाख टन बढी उत्पादन हो।

कोइला नै मङ्गोलियाको प्रमुख निर्यातयोग्य बस्तु हो, र सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् तीन करोड ६५ लाख टन कोइला निर्यात गरेको थियो। मङ्गोलियाले आगामी दिनहरुमा प्रतिवर्ष चार करोड टन कोइला निर्यात गर्ने लक्ष्य राखेको छ। सिन्ह्वा

प्रकाशित: २६ कार्तिक २०७६ १४:५७ मंगलबार

मङ्गोलिया कोइला_निर्यात