अन्तर्राष्ट्रिय

उत्तर कोरियालाई फकाउँदै अमेरिका

गत फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र उत्तर कोरियाली शासक किम जोङ–उन। फाइल तस्बिर : एजेन्सी

सोल (एजेन्सी)– वार्तामा फर्कनका लागि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई ‘अति सक्रियातपूर्वक’ फकाउन प्रयास गरिरहेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले आइतबार दिएको जानकारीअनुसार उत्तर कोरियाले अमेरिकालाई लचिलो हुन दिएको समयसीमा सकिनै लागेको अवस्थामा वासिङ्टनले प्योङयाङलाई फकाउन खोजिरहेको हो। उत्तर कोरियाले यस वर्षको अन्त्यसम्म अमेरिका लचिलो भएर नआए आफू वार्ताबाट बाहिरिने र आणविक कार्यक्रमलाई अगाडि बढाउने यसअघि नै बताइसकेको छ।

दक्षिण कोरियाले पनि उत्तर कोरियाले दिएको ‘समयसीमालाई अति नै गम्भीरतका साथ लिएको’ राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इवि–योङलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। उनले हाल अन्तर कोरियाली सम्बन्ध सुधारको प्रयास रोकिरहेको अवस्था रहेको र यसबारे दक्षिण कोरिया अति नै संवेदनशील रहेको पनि बताएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले गत अप्रिलमै संयुक्त राज्य अमेरिकालाई आणविक निःशस्त्रीकरणको वार्तामा लचिलो हुन यो वर्षसम्मको अन्त्यसम्मको समयसीमा दिएका थिए र उत्तर कोरियाली अधिकारीहरुले सो समयसीमालाई वेवास्ता नगर्न अमेरिकालाई चेतावनीसमेत दिएका थिए।

‘अमेरिकासँगको वार्ताको ढोका दिनप्रति दिन साँघुरो हुँदै गएको छ,’ उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले गत शुक्रबार बताएका थिए। उनले प्योङयाङले वासिङ्टनबाट यो वर्षको अन्त्यसम्ममा केही उचित कदम चालेको हेर्न चाहेको पनि बताएका थिए।

संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण कोरियाको अदालतले युद्धका समयमा बाध्य पारेर काममा लगाइएका मजदूरलाई जापानी कम्पनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।

गत फेब्रुअरी २७ र २८ मा एसियाली मुलुक भियतनाममा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ–उनबीचको दोस्रो शिखर बैठक बिना कुनै निष्कर्ष टुंगिएपछि दुई मुलुकबीचको वार्तामा कुनै प्रगति भएको छैन।

दुई परम्परागत शत्रु राष्ट्रबीचको वार्ता रोकिएको अवस्थामा प्योङयाङले दिएको समयसीमाभित्र कुनै सकारात्मक नतिजा नआए दक्षिण कोरियाले विभिन्न आपतकालीन योजना तयार पारेको अमेरिकाको साझेदार एवं उत्तर कोरियाको छिमेकी दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले केही विस्तृत जानकारी नदिई बताए।

‘दुई देशबीचका उच्च अधिकारीहरुको बैठक भयो भने मात्रै अमेरिका र उत्तर कोरियाको शिखर बैठक सम्भव रहेको छ,’ राष्ट्रपति मुन जाय–इनको पाँच वर्षे कार्यकालको आधा समयमा भएको उपलब्धीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चुङले बताए।

‘तपाईंलाई थाहा भएसम्म उत्तर कोरियाले यस वर्षको अन्त्यसम्मको समयसीमा दिएको छ र उसको वर्तमान अवस्थालाई मध्यनजर गर्दै हामीले संयुक्त राज्य अमेरिकी पक्षसँग नजिकबाट कुराकानी गरिरहेका छौं,’ उनले बताए।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता रोकिएसँगै दक्षिण कोरियाले जति मिहिनत गरे पनि दुई कोरियाबीचको सम्बन्ध सुधारको प्रयास पनि रोकिएको छ।

कोरियाली प्रायःद्वीपको पछिल्लो तनावयुक्त सम्बन्धकै बीच उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले उत्तर कोरियाको माउन्ट कुमग्याङ रिसोर्टमा दक्षिण कोरियाले निर्माण गरेको एउटा सुविधा सम्पन्न भवनलाई हटाउन आदेश दिएका छन्। उत्तर कोरियाले दक्षिण कोरियाले वार्ताका लागि गरेको आग्रह पनि अस्वीकार गरेको छ।

सन् १९५३ मा दुई कोरियाली राष्ट्र विभाजन भएसँगै सन् २०१७ को जुन १२ का दिन बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेताबीच सिंगापुरमा पहिलो पटक शिखर बैठक भएको थियो। त्यस बैठकमा उत्तर कोरियाले आफ्नो सुरक्षाको ग्यारेन्टी भए कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नका लागि आफू तयार रहेको बताएको थियो भने अमेरिकाले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूतिका लागि नेता किमलाई विश्वस्त पारेका थिए। त्यसैअनुरुप उत्तर कोरियाले आफ्ना केही आणविक परीक्षण केन्द्र ध्वस्त गरेको दाबीसमेत गरेको थियो। तर भियतनाममा भएको दोस्रो शिखर बैठकमा भने उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्ध हटे मात्रै आणविक निःशस्त्रीकरणका लागि तयार रहेको बताएपछि अमेरिकाले सो प्रस्ताव अस्वीकार गरेको थियो। दुई पक्षबीच सो बैठक बिनानिष्कर्ष टुंगिएदेखि वासिङ्टन र प्योङयाङबीच औपचारिक वार्ता हुन सकिरहेको छैन।

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले जापानसँगको कूटनीतिक सम्बन्धमा पनि तनावको अवस्था भोगिरहन परेको छ।

संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण कोरियाको अदालतले युद्धका समयमा बाध्य पारेर काममा लगाइएका मजदूरलाई जापानी कम्पनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।

अदालतको आदेशले रिसाएको जापानले दक्षिण कोरियातर्फ हुने उच्च प्रविधियुक्त सामग्रीको निर्यातमा व्यापाक मात्रामा कटौती गरेको छ।

जापानको यस कदमको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले पनि जापानसँग साझेदार गर्ने बौद्धिकता आदानप्रदानलाई नविकरण गरेको छैन। यसै महिनाको अन्त्यमा सो सम्झौताको अवधि सकिँदैछ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले यदि अवस्था सामान्य रहेमामा जापानसँगको सो सम्झौतालाई नविकरण गर्न सकिनेसमेत पत्रकार सम्मेलनमा बताएका छन्। यद्यपि पछिल्लो तनावका लागि जापान बढी जिम्मेवार रहेको आरोप पनि लगाएका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:२५ मंगलबार

किम_जोङ–उन डोनाल्ड_ट्रम्प