अन्तर्राष्ट्रिय

विद्युतीय धरापमा परेर ३७ को मृत्यु

बुर्किना फासो (एजेन्सी) – बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। सुन खानीका मजदुरलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्। 

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी ६० भन्दा बढी घाइते भएको जानकारी दिएका छन्।आक्रमणमा परी घाइते भएकालाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए।
बुर्किना फासोमा आतंकवादीको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ। जसमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरू सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन्। साथै यस्ता आतंकवादीसँग त्रसित भएर हजारौं स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन्।

प्रकाशित: २२ कार्तिक २०७६ ००:५२ शुक्रबार

विद्युतीय_धराप मृत्यु