अन्तर्राष्ट्रिय

महिला कर्मचारीलाई जिउँदै जलाइयो

सरकारी अधिकारीलाई जिउँदै जलाइएको कार्यालय। तस्बिर : एजेन्सी

नयाँ दिल्ली (बिबिसी)– दक्षिण भारतीय राज्य तेलंगानामा सम्पत्तिसम्बन्धी एउटा विवादमा राजस्वकी एक महिला अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको प्रहरीले बताएको छ।

विजया रेड्डी नामकी ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमबार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो। उनलाई बचाउन खोज्ने एक पुरुषको कर्मचारीको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।

घटनास्थलमा खिचिएको एउटा दर्दनाक भिडियोमा कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिनुपूर्व रेड्डीले रोइकराइ गरेर गुहार मागेको देखिएको छ। सरकारी अधिकारीलाई जिउँदै जलाएर हत्या गरेको घटनामा संलग्न भएको भन्ने आरोप लागेका संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आक्रमणकारीको शरीर पनि आगोले पोलेको बताइएको छ। सोमबार दिउँसो एक बजेर ३० मिनेटतिर अदालतको एउटा सुनुवाइबाट फर्किएकी रेड्डीमाथि सांघातिक आक्रमण भएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उनीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

सोमबार दिउँसो एक बजेर ३० मिनेटतिर अदालतको एउटा सुनुवाइबाट फर्किएकी रेड्डीमाथि सांघातिक आक्रमण भएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उनीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

सोमबारको घटनामा रेड्डीलाई जोगाउन गएका अन्य दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएको बताइएको छ। ती मध्येका एक गुरुन्नाथाम नामका कर्मचारीका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आएको थियो। तर त्यो कक्ष भित्रबाट बन्द गरिएको थियो।

‘उनी जसोतसो ढोका खोल्न सफल भइन् र बाहिर आइन्। हामी आक्रमणकारी सुरेशलाई तान्न खोज्दै थियौं। उनी भुइँमा ढलिन् र हामीले पत्तो पाउनुअघि नै आगो सबैतिर फैलिसकेको थियो,’ रेड्डीलाई बचाउन जाँदा आगोले पोलेर घाइते भएका गुरुन्नाथामको मृत्यु हुनुपूर्व उनले प्रहरीलाई बताएका थिए। प्रत्यक्षदर्शीका अनुसार आगोको पोलाइ खप्न नसकेर सुरेश सो भवन छोडेर भागेका थिए। प्रहरीले सुरेशलाई सडकमा हिडिँरहेको अवस्थामा फेला पारेर अस्पताल पु-याएको थियो।

आक्रमण तेलंगाना राज्यको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर अब्दुल्लाहपरमेटमा भएको थियो। एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवतका अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए भन्नेबारमा पत्ता लगाउन खोजिरहेको छ। आक्रमण भएको स्थलबाट नजिकैको एउटा गाउँमा बस्ने संदिग्ध सुरेशको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेको बताइएको छ। सुरेशका पिताले सञ्चारमाध्यमलाई भने, ‘जग्गा विवादमा हाम्रो एउटा मुद्दा चलिरहेको छ। तर त्यो म र मेरा भाइले हेरिरहेका छौं। सुरेश किन ती अधिकारीलाई भेट्न गयो भन्ने विषयमा भने हामीलाई केही थाहा छैन।’

सरकारी अधिकारीलाई कार्यस्थलमै जिउँदै जलाएर हत्या गरिएको घटनाको विरोध गर्दै तेलंगानामा कार्यरत राजस्व सेवाका कर्मचारीको संगठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ।

‘सरकारी कार्यालयभित्र यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो,’ संगठनका अध्यक्ष रविन्द्र रेड्डी वांगाले बिबिसीलाई बताए। उनले विगत दुई वर्षमा राजस्वका कर्मचारीसँग कैयौं दुव्र्यहारका घटना भएको दाबीसमेत गरेका छन्।

प्रकाशित: २० कार्तिक २०७६ ०४:४४ बुधबार

महिला_कर्मचारी जिउँदै_जलाइयो