इस्तानबुल (एजेन्सी)– इस्लामिक स्टेट (आइएस) लडाकु समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मंगलबार जनाएको छ।
अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा गत महिना आइएस प्रमुख अल बग्दादी मारिएका थिए।
उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मंगलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताएको छ।
आइएस पूर्वप्रमुख अल बग्दादीकी दिदी पक्राउ पर्नु भनेको सो संगठनका बारेमा महत्वपूर्ण विवरण बाहिरिन सक्ने टर्कीका अधिकारीहरुले जिकिर गरेका छन्।
हाल टर्कीको नियन्त्रणमा रहेको उक्त सहर सिरियाको अलेप्पो प्रान्तमा रहेको छ। अजाज नगरमा अल बग्दादीकी दिदी अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।
अमेरिकाको विशेष फौज उत्तरी सिरियास्थित आफ्नै निवासमा प्रवेश गरेर आक्रमण थालेपछि आइएस पूर्वप्रमुख अल बग्दादीले गत महिना आफैंलाई गोली हानी आत्महत्या गरेका थिए।
अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा गत महिना आइएस प्रमुख अल बग्दादी मारिएका थिए।
अल बग्दादीको मृत्युलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सफलताको रूपमा हेरिएको भए पनि कतिपय आलोचकले भने अझैपनि सिरिया र अन्य भागमा आइएसबाट सुरक्षा चुनौती व्याप्त नै रहेको बताउँदै आएका छन्। टर्कीका एक अधिकारीले रोयटर्सको समाचार एजेन्सीलाई बताएअनुसार बग्दादीकी दिदी पक्राउ पर्नुले आइएसको ‘भित्री कामकाज’ बुझ्न मद्दत पुग्न सक्छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सञ्चार निर्देशक फरेत्तिन अल्टुनले अल बग्दादीकी दिदीको पक्राउलाई ‘आतंकवाद विरोधी अभियानको सफलताको अर्को उदाहरण हो’ भनेर प्रशंसा गरेका छन्।
टर्कीले बग्दादीकी दिदी पक्राउ गर्नुलाई ठूलो उपलब्धिका रूपमा अगाडि बढाए पनि उनीबारे कम मात्रै जानकारी रहेको र उनी पक्राउ परे वा नपरेको पनि स्वतन्त्र पुष्टि भइनसकेको बिबिसीले जनाएको छ।
आइएस पूर्वप्रमुख अल बग्दादीका कैयौं दाजुभाइ र दिदीबहिनी रहेको र उनीहरु सबै जीवित छन् वा मरिसके भन्ने विषयमा पनि प्रष्ट नभएको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ। अवाद पक्राउ परेको स्थल आइएस परिवारले तस्कर गर्नका लागि प्रयोग गर्ने रुट भएको विज्ञहरु बताउँछन्।
प्रकाशित: २० कार्तिक २०७६ ०४:३९ बुधबार