अन्तर्राष्ट्रिय

जोरबिजोर प्रणाली लागू

नयाँ दिल्ली – भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान आठ बजेबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुँवा र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारले यस्तो कदम चालेको हो ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले वातावरण प्रदूषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरबिजोर प्रणाली लागू गर्न नागरिकलाई आग्रह गरेका छन् । राष्ट्रिय राजधानीमा प्रदूषण बढेकोले यसमा योगदान पुर्‍याउन निजी सवारी साधन (कार) प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन् ।

‘आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौं । कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौं । मित्रता, सम्बन्ध बढाऔं । पेट्रोलको बचत गरौं र प्रदूषण घटाऔं,’ मुख्यमन्त्री केजरीवालले आग्रह गरेका छन् । नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारी धनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो ।

दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी १० दिन (नोभेम्बर १४) सम्म लागू गरिने छ । तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ । भारतमा आइतबार साप्ताहिक बिदा दिइने भएको र बिदाका दिन सवारी साधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ  ।

मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ गरेको घोषणाअनुसार सोमबारदेखि जोरबिजोर प्रणाली लागू भएको हो । यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपतकालीन सेवामा भने लागू हुने छैन । महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ । एजेन्सी

प्रकाशित: १९ कार्तिक २०७६ ०१:५१ मंगलबार

नयाँ_दिल्ली यातायातका_साधन जोरबिजोर_प्रणाली