अन्तर्राष्ट्रिय

विद्रोहीको आक्रमणमा १२ जना मारिए

काबुल (एजेन्सी) – अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन्।

प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकु मारिएको जानकारी दिएका छन्।

तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण गरेका थिए। आक्रमणपछि सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो। शनिबार अबेर रातिसम्म दुवै पक्षबीच भिडन्त भएपछि थप सुरक्षाफौज परिचालन गरिएको पनि प्रवक्ता नजारीले जानकारी दिएका छन्।

तालिबान लडाकुले पछिल्लो पटक बदाखसान प्रान्तका वार्दोज, यामगान र कुरान–वा–मुन्जान जिल्लामा नियन्त्रण गुमाएको सरकारी दाबी छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५६ सोमबार

अफगानिस्तान विद्रोही