अन्तर्राष्ट्रिय

पाकिस्तानमा सरकार विरोधी प्रदर्शन

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ। यहाँको इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन्। सुरक्षाकर्मीहरुले पाकिस्तानको विभिन्न भूभागबाट आएका प्रदर्शनकारीहरुलाई रोक्न कडा सुरक्षा व्यवस्था अपनाएका थिए। तर पनि २० हजार भन्दा बढीको संख्यामा आएका इस्लामिक कार्यकर्ताहरुले राजधानी इस्लामावादमा प्रदर्शन गर्दै प्रधानमन्त्री खानको राजिनामा माग गरेका थिए।

जमात उलेमा ए इस्लाम पाकिस्तानको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो। सो पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो। सो दलले पाकिस्तानका क्रिकेट स्टारबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री इमरान खानको राजिनामा माग गरिरहेको छ।

प्रधानमन्त्री खानको नेतृत्वमा रहेको वर्तमान सरकारले पाकिस्तानमा शान्ति सुरक्षा कायम गर्न नसकेको लगायतका धेरै कमी कमजोरीहरु देखाएर सरकारबाट हट्न भनिरहेको छ। पाकिस्तान मुस्लिम लिग नवाज पार्टीले पनि वर्तमान सरकारको कडा विरोध गर्दै आएको छ। उक्त दलले वर्तमान सरकारलाई अवैध सरकार भन्दै यो सरकारका प्रधानमन्त्री खानले अब तत्कालै राजिनामा दिनुपर्ने बताउँदै आएको छ।

शुक्रबारको विरोध प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री खानका लागि एक प्रमुख चुनौतीका रुपमा लिइएको छ। सिन्ह्वा

प्रकाशित: १६ कार्तिक २०७६ १०:४९ शनिबार

पाकिस्तान सरकार विरोधी प्रदर्शन