अन्तर्राष्ट्रिय

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने

वासिङ्टन– विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ। राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताएका छन्। उनले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गरेका छन्।

अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य–जाँच गर्न तिब्र दबाब परेको छ।

डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने छ। उनले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उनले जानकारी दिए।

तर फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गरेका छन्। प्रतिबन्धले स्वतन्त्र र नयाँ 'आवाज'लाई दबाउने जुकरबर्गको तर्क छ।

तर डोर्से भने जुकरबर्गको तर्कसँग सहमत छैनन्। डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताए।

'अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,' सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गरेकी छिन्। 'फेसबुकको भनाई के छ ?' क्लिन्टनले प्रश्न गरेकी छिन्। एएफपी

प्रकाशित: १४ कार्तिक २०७६ ०९:०६ बिहीबार

ट्वीटर राजनीतिक विज्ञापन