अन्तर्राष्ट्रिय

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

ला पाज– बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन्। बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरेको छ।

मोरालेसले कूल खसेको मतको ४७.१ प्रतिशत मत प्राप्त गरेको आयोगको भनाई छ। उनका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन्।

बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ।

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए। मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गरेका थिए।

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उनी आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउने छन्।

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ। सर्वोच्चकै आदेश बमोजिम उनी राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार भएका थिए।

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाएका छन्। एएफपी

प्रकाशित: ८ कार्तिक २०७६ ०८:५१ शुक्रबार

मोरालेस राष्ट्रपति विजयी दाबी