अन्तर्राष्ट्रिय

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

कोलम्बो- श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ। देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गरेका छन्।

श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिएका छन्। 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा झण्डै एक करोड साठी लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।

उम्मेदवारहरुमध्ये सत्तारुढ दल युनाइटेड नेसनल फ्रन्टका सजिथ प्रेमदासा र प्रमुख प्रतिपक्षी दलका गोताबाया राजापाक्षेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। राजापाक्षे पूर्व रक्षा सचिव तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेका भाइ हुन्। 

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले नोभेम्बर १६ मा मतदान भई नोभेम्बर १८ मा मतपरिणाम घोषणा हुने जानकारी दिए। सिन्ह्वा

प्रकाशित: ६ कार्तिक २०७६ १५:०८ बुधबार

श्रीलङ्का राष्ट्रपति_निर्वाचन सुरक्षा_सतर्कता