अन्तर्राष्ट्रिय

मलेसियाका प्रधानमन्त्रीले भनेः कश्मीर मुद्दामा अडिग छौं, भारतले निहुँ खोजे जवाफ दिन्छौं

क्वालालमपुर– मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो। 

महाथीरले मंगलबार सम्वाददाताहरुसँग कुरा गर्दै कश्मीर प्रकरणमा आफ्नो धारणा यथावत रहेको बताएका हुन्। उनले राष्ट्रसंघमा दिएको अभिव्यक्तिले दुई देशबीच व्यापार युद्धको अवस्था सिर्जना भएको छ।

मलेसियाको पाम तेलका लागि भारत ठूलो बजार हो। कश्मीर मुद्दामा मलेसियाले पाकिस्तानकै भाषा बोलेपछि भारतीय व्यापारीहरुले मलेसियाको तेल बहिष्कार गर्ने बताएका छन्। यस्तो बेला मलेसियाका प्रधानमन्त्री महाथीरले कश्मीरबारे आफूहरुको धारणा नफेरिने र भारतले निहुँ खोजे जवाफ दिने स्पष्ट पारेका हुन्। 

‘हामी मनदेखि बोल्छौं, बोलेको कुरामा पछि हट्दैनौं। हामीले यो कुरा समाधान गर्नुपर्ने भनेर राष्ट्रसंघमा पनि उठाएका हौं’, संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै महाथीरले भने। 

महाथीरको यो भनाईले भारतसँगको व्यापारिक सम्बन्धमा उतारचढाव आउन सक्ने रोयटर्सले उल्लेख गरेको छ। 

सोमबार मात्रै भारतको शीर्ष भेजिटेबल आयल ट्रेड बडीले आफ्ना सदस्यलाई मलेसियाबाट पाम तेल खरिद बन्द गर्न निर्देशन दिएको थियो। भारतले अगस्ट ५ मा जम्मू–कश्मीरको विशेष मान्यता खारेज गर्दै आफ्नो राज्य घोषणा गरेको थियो। उक्त कदमको मलेसियाले कडा आलोचना गरेको थियो। यद्यपि भारतले काश्मीरलाई आन्तरिक मामिला भन्दै आएको छ। 

मलेसियाली प्रधानमन्त्री महाथीरले तेल खरिद रोक्ने भारतीय व्यापारीको निर्णय आफूले सुनेको बताउँदै भने, ‘तेल बहिष्कारका असरबारे अध्ययन गर्छाैं। त्यसपछि उचित निर्णय लिनेछौं।’

यद्यपि भारत सरकारले आधिकारिक रुपमा मलेसियाली पाम तेलको आयात रोक्नेबारे कुनै प्रतिक्रिया दिएको छैन। यसमा महाथीरले भने, ‘तेल रोक्ने भारत सरकारको अपिल होइन। त्यसकारण हामी व्यापारीसँग कसरी कुराकानी गर्ने भन्ने सोचिरहेका छौं। हामीले यो बुझ्नुपर्छ कि दुई देशबीचको व्यापार द्विपक्षीय हो।’

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२२ बुधबार

मलेसिया महाथीर_मोहम्मद कश्मीर भारत व्यापा_यद्ध