अन्तर्राष्ट्रिय

ब्राजिलमा विमान दुर्घटना, कम्तीमा तीनको मृत्यु

रियो दी जेनेरो (एजेन्सी) – ब्राजिलको बेलो हरिजोन्ट सहरस्थित एक आवसीय क्षेत्रनजिकै एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। सोमबार भएको विमान दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

इन्जिनमा समस्या आएपछि मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो। विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार विमान विस्फोटमा परी चारवटा गाडी पूर्णरुपले ध्वस्त भएका छन्।  विमानमा एक चालक र तीन यात्रु सवार थिए। विमानमा सवार एक व्यक्ति, कारमा रहेका एक व्यक्ति र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। विमानका तीन र कारभित्र रहेका एक यात्री घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय अधिकारीले बताएका छन्।

इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो। यो वर्ष मात्रै ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App