अन्तर्राष्ट्रिय

सर्वाधिक लामो यात्रुवाहक उडान

सिड्नी – करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ। यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ। क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्युयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो।

अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ। क्वान्टासले पछिल्लो समय संयुक्त राज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।

न्युयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए। यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो। क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए।

लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ। यात्रुहरुले अस्ट्रेलियाली आकासतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ। क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान सुरु गरेको थियो। यो उडान करिब १७ घण्टाको छ र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो।

प्रकाशित: ४ कार्तिक २०७६ ०६:४२ सोमबार

सिधा_उडान यात्रुवाहक उडान