अन्तर्राष्ट्रिय

प्रदर्शनकारीमाथि गोली प्रहार

हङकङ (बिबिसी)– चीनविरोधी प्रदर्शनमा सहभागी एक प्रदर्शनकारीको छातीमा मंगलबार गोली प्रहार गरिएको प्रहरीले बताएको छ।

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको अवसरमा हङकङमा कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाइएकोमा हजारौं प्रदर्शनकारीले सो प्रतिबन्धको विरोधमा मंगलबार हङकङमा प्रदर्शन गरेका थिए।

तीन महिनाभन्दा लामो समयदेखि हङकङमा प्रदर्शन भइरहेको छ। यसअघिका प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई रबरको गोली प्रहार गरे पनि प्रत्यक्ष रूपमा गोली प्रहार गरेको यो पहिलो घटना हो।

लगभग चार महिनादेखिको हङकङ प्रदर्शनले चिनियाँ राष्ट्रपति सी चिनफिङको राष्ट्रिय एकताको विचारलाई चुनौती दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रदर्शनकारीले प्रदर्शन सुरु गर्नुपूर्व चीनको विशेष भूभाग आयोजित विशेष समारोहबीच हङकङमा चिनियाँ राष्ट्रिय झन्डा फहराइएको थियो।

स्थापना दिवसका दिन हङकङको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। विशेष समारोहस्थल हङकङको सम्मेलन केन्द्रभित्रबाट गरिएको प्रत्यक्ष प्रसारणलाई १२ हजार आमन्त्रित पाहुनाले हेरेका थिए।

प्रहरीसँगको झडपमा ३१ व्यक्ति घाइते भएको बताइएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीलक्षित पेट्रोल बम प्रहार गरेका थिए।

घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको र त्यसमध्ये एकजना प्रहरीको गोली लागेको व्यक्ति भएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०७६ ०३:०८ बुधबार

हङकङमा_प्रदर्शन