अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय प्रतिनिधि यमनमा

साना (एजेन्सी) – यमनमा द्वन्द्वरत विद्रोही हुथी समूहले शान्तिका लागि देखाएको संकेतसँगै संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्स मंगलबार यमनको राजधानी सानामा पुगेका छन्।

ग्रिफिथ्सले साना र रियादलाई विश्वासमा लिएर यमनी शान्तिवार्तालाई स्कटहोम सहमति अनुरूप अघि बढाउन तत्काल पहल थाल्ने बताइएको छ। इरानको समर्थन प्राप्त यमनी हुथी समूहले संयुक्त राष्ट्रसंघको रोहवरमा तीन सय ५० कैदीलाई रिहाइ गरेको उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको थियो। तर अन्य सञ्चारमाध्यममा आएको समाचारअनुसार दुई सय ९० कैदीको आदानप्रदानका लागि हुथीले आफ्नोतर्फबाट पहल थालेको छ।

यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत वर्षको डिसेम्बरमा गरेको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो। ‘कैदीहरुको रिहाइ स्कटहोममा राष्ट्रसंघको नेतृत्वमा यमनी सरकार र विद्रोहीका प्रतिनिधिबीच भएको सहमति अनुसार भएको छ,’ हुथी विद्रोही समूहका कैदी मामिला हेर्ने समितिका प्रमुख अब्दुलकादेर अल–मुर्तादाले मसिरा टेलिभिजनलाई बताएका छन्।

‘हामी अर्को पक्षसँग सोही कदम चाल्न आग्रह गर्दछौं,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर सहमतिपछि दुवै समूहले सम्झौतालाई कार्यान्वयन गर्न सकेका थिएनन्। सम्झौता अनुरूप विद्रोहीको प्रभाव क्षेत्र होडैडा बन्दरगाह सहरबाट सेनालाई हटाउने विषयमा विवाद बल्झिँदा गृहयुद्धको वृहद् राजनीतिक समाधानका लागि पहिलो चरणमा गरिने भनिएको युद्धबन्दीको आदानप्रदानका लागि भएको सहमति पालनामा समस्या भएको थियो।

यो कदम यमनको युद्ध अन्त्यका लागि गरिएको सहमति पालनाको पहिलो कार्य हो। यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरूद्ध यमनी सरकारलाई सघाउँदै आएको छ। यमनमा विगत चार बर्षदेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विश्व समुदायबाट समर्थन प्राप्त यमनी राष्ट्रपति अब्द–रब्ब मन्सुर हाडीको सरकारलाई सहयोग गर्दै आएको छ।

प्रकाशित: १५ आश्विन २०७६ ०२:४४ बुधबार

राष्ट्रसंघीय_प्रतिनिधि यमन