अन्तर्राष्ट्रिय

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा आयोजित समारोहमा उपस्थित राष्ट्रिय पदक र मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरु। तस्बिर ः एजेन्सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्र र बाहिरका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन्।

मानार्थ उपाधि प्राप्त गर्नेहरुमा फ्रान्सका एक पूर्व प्रधानमन्त्रीसमेत छन्। चीनमा कम्युनिस्ट शासन सुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो। चीनको राजधानी बेइजिङमा आउँदो मंगलबार औपचारिक रूपमा व्यापक सैन्य परेड पनि आयोजना हुँदैछ।

पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए।

पुरस्कृत हुनेमध्येकी एक क्यानडाकी इसाबेल क्रुक एक सय वर्ष नाघेकी मानवशास्त्री हुन्। उनी सन् १९१५ मा जन्मिएकी थिइन्। सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना हुनुअघि उनी चीनमै बस्थिन्। चीनको चेङ्दुमा जन्मेकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए।

फ्रान्सका पूर्वप्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि ‘चीनका पुराना मित्र’ का रूपमा सम्मान गरिएको छ। सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रवद्र्धनमा उनले विशेष सहयोग गरेका थिए।

यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो र थाइल्यान्डका राजकुमार माहा चक्री सिरिनधोन पनि रहेका छन्। कूल ४२ जना पुरस्कृत भएका भए पनि समारोहमा २९ जना मात्र सहभागी भएका थिए। सो समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: १३ आश्विन २०७६ ०१:०२ सोमबार

चिनियाँ_राष्ट्रपति सी_चिनफिङ