अन्तर्राष्ट्रिय

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

इस्लामावाद- पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ।     
     
भूकम्पका कारण कम्तीमा ४ सय ७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।     
     
मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला-ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ।     
     
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ। रासस

प्रकाशित: ८ आश्विन २०७६ ०८:३३ बुधबार

पाकिस्तान भूकम्प मृत्यु घाइते