अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पलाई लिएर ‘ट्विट ब्याटल’

संयुक्त राष्ट्र संघको महासभाको साइडलाइनमा द्विपक्षीय बैठक गर्दै अमेरिकी डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खान।

वासिङ्टन (बिबिसी)– पछिल्ला दुई दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाका दुई शक्तिशाली राष्ट्रका सरकार प्रमुखहरुसँग छुट्टाछुट्टै भेट गरे।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अमेरिकी राष्ट्रपति ट्रम्पले फरक समयमा भेट गरे।

भारतीय प्रधानमन्त्री मोदीसँग ऐतिहासिक सभामा सँगै उभिएका बेला ट्रम्पले अमेरिका र भारत दुवै देशमा भएका आतंकवादी आक्रमणमा पाकिस्तानलाई जिम्मेवार बनाउनु पर्ने तर्क राखे। तर त्यसको भोलीपल्टै पाकिस्तानी प्रधानमन्त्री खानसँगको भेटमा ट्रम्पले आफूले आफैंलाई पाकिस्तानको ‘मित्र’ भएको दाबी गरे। उनले पाकिस्तानी प्रधानमन्त्री खानलाई ‘महान नेता’ को संज्ञासमेत दिन भ्याए। उनले खानसँग आफ्ना धेरै पाकिस्तानी मित्रका बारेमा कुराकानी गरे अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानबारे दिएको बयानबारे प्रश्न उठाउँदै ‘इरान विश्वमै आतंकको पहिलो नम्बरको राज्य भएको’ जिकिर गरे।

अघिल्लो दिनमात्रै भारतीय प्रधानमन्त्री मोदीको मुक्तकण्ठले प्रशंसा गर्दै पाकिस्तानप्रति कडा देखिएका ट्रम्पले भोलीपल्टै पाकिस्तानका प्रधानमन्त्री खानको पनि खुलेरै प्रशंसा गरेपछि भारतका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आश्चर्यमा पारेको छ।

एक दिन अघिमात्रै अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा भएको मोदी र ट्रम्पको संयुक्त सभाको सफलताबाट उत्साहित धेरैले सो कार्यक्रमलाई पाकिस्तानविरुद्ध भारतको अर्को जितको रूपमा चित्रित गरेका थिए।

मोदी र ट्रम्पको साझा कार्यक्रमपछि ‘निराश र हतास इमरान खान चित्रित गर्ने मेम्स’ व्यापक रूपमा सामाजिक सञ्जालमा सेयर गरिएको थियो। सामाजिक सञ्जाल ट्विटरका पंडितहरुले मोदी र ट्रम्पको संयुक्त सभालाई देशकोविरुद्ध ‘अर्को सर्जिकल स्ट्राइक’ भनेका थिए।

उता, पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ता भने खुसी देखिए। उनीहरुले भारतीयहरुलार्ई कटाक्ष गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रशंसामा धेरै ट्विट खर्च गरे। त्यतिमात्रै नभई ट्विटरमा ‘म्यानअफपिसइमरानखान’, ‘इमरानखानडक्ट्राइन’ र ‘इमरानखानफरपिस’ नामका ह्यास ट्याग नै मंगलबार बिहानभर ट्रेन्डिङमा रहे।

भारतीय र पाकिस्तानी नागरिक एकअर्काप्रति कटाक्षमा उत्रिरहँदा मोदी र खानसँग अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको अन्तक्र्रियाले के संकेत गर्दछ? प्रश्न उठेका छन्।

अमेरिकी सेना र अफगानिस्तानको चासोमा स्पष्ट ध्यान दिँदै ट्रम्पले ‘भारत र पाकिस्तानलाई उनीहरुले व्यक्तिगत रूपमा सुन्न चाहेको कुरा स्पष्ट रूपमा भन्दै थिए’ भारतीय पत्रकार महा सिद्दीकीले ट्विट गरेका छन्।

‘ट्रम्प, ट्रम्प बनिरहेका छन्। उनी भारतबाट आफ्नो व्यापार सम्झौता चाहन्छन् र अफगानिस्तानमा पाकिस्तानबाट सहयोग चाहिरहेका छन्। अवश्य पनि उनी नोबेल पुरस्कार पनि चाहिरहेका छन्। उनले न कुनै देश, न कुनै नेताको वास्ता गरेका छन्। तर दुई देशसँगको सम्बन्धमा ट्रम्पको स्पष्ट पदानुक्रम छ। मलाई लाग्छ कि भारत र मोदीले यसलाई लिनेछ,’ अर्का वरिष्ठ पत्रकार एवं सम्पादक शेखर गुप्ताले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०७६ ०४:०३ बुधबार

डोनाल्ड_ट्रम्प नरेन्द्र_मोदी इमरान_खान