अन्तर्राष्ट्रिय

राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

बेइजिङ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्।

चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै महासचिव गुटेरेसले आफ्नो सन्देशमा बताएका छन्। चीन र राष्ट्रसंघले सधैंझैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उनले बधाई सन्देशमा उल्लेख गरेका छन्।

दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले राष्ट्रसंघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनीतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गरेका छन्।

राष्ट्रसंघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उनले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिएका छन्। सिन्ह्वा

प्रकाशित: ४ आश्विन २०७६ १४:३९ शनिबार

संयुक्त_राष्ट्रसंघ महासचिव चीन प्रशंसा