अन्तर्राष्ट्रिय

अमेरिकासँग वार्ताका लागि तालिबान तयार

अफगानिस्तानमा दुई भिषण बम हमला भएको केही घण्टा नबित्दै मंगलबार तालिबानले अमेरिकासँग वार्ताको ढोका खुला रहेको भन्ने भनाइ सार्वजनिक गरेको छ।

काबुल – अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्त राज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन्। युद्धग्रस्त मुलुक अफगानिस्तानमा दुईवटा भिषण बम हमला भएको केही घण्टा नबित्दै मंगलबार तालिबानका तर्फबाट यस्तो भनाइ सार्वजनिक भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

तालिबान लडाकु समूहले जिम्मेवारी लिएका ती दुवै आक्रमण राष्ट्रपतीय चुनावी -यालीलक्षित आत्मघाती बम आक्रमण थिए। ती आक्रमणमा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए। तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूहको भूमिका रहेको र त्यो सही कदम भएको दाबी पनि गरेका छन्।

अमेरिकासँगको वार्ताका क्रममा हजारौं तालिबानीको हत्या भएको अमेरिकी प्रतिनिधिले नै स्वीकार गरेको स्टानिक्जाईले बिबिसीसँग बताए। विद्रोहीले वार्ताकै बीचमा पनि युद्ध लड्नुको विकल्प नभएकोमा उनले जोड दिएका छन्। उनले यद्यपि तालिबानका तर्फबाट वार्ताको ढोका खुला रहेको स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अफगान नेतासँग क्याम्प डेभिडमा सेप्टेम्बर ११ अघि आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको घोषणा गरेका थिए। तालिबान समूहले काबुलमा गराएको कार बम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए। राष्ट्रपति ट्रम्पले तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका थिए।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा सो भेटघाट कार्यक्रम आयोजना हुन लागेको थियो। अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओसामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो। अल–कायदा र तालिबानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार चारसय भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ। हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगान सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिरहेको छ।
अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेकाले पनि आगामी दिनमा निकै बढी हिंसाका घटना हुने अनुमान गरिएका छन्। अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यो चुनावलाई तालिबान समूहले बहिस्कार गरेको छ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले चुनावी सभामा उपस्थित नहुन सर्वसाधारणलाई पहिले नै जानकारी गराइएको बताउँदै तालिबानको अनुरोधलाई अवज्ञा गर्नेमाथि हुने क्षतिको जिम्मेवार आफूहरु नहुने बताएका छन्। मुजाहिदले यसै महिनाको सुरुमा फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै वार्ता र संघर्ष दुबै सँगसँगै अघि बढ्ने बताएका थिए। यदि अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता स्थगित गरे संघर्षको बाटो मात्र बाँकी रहने उनले स्पष्ट पारेका थिए।

प्रकाशित: २ आश्विन २०७६ ०२:५८ बिहीबार

तालिबान युद्धग्रस्त अफगानिस्तान