अन्तर्राष्ट्रिय

ठोस प्रमाण दिने साउदीको भनाइ

रियाद – साउदी अबरले गत शनिबार बिहानै आफ्ना कच्चा तेल प्रशोधनस्थलमा भएका आक्रमणमा इरानको संलग्नता रहेकोबारे ठोस प्रमाण दिने प्रतिबद्धता जनाएको छ। खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा नजिकको साझेदार साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा शनिबार बिहान सबेरै गरिएका ड्रोन हमलाका पछाडि आफ्नो संलग्नता रहेको यमनमा संघर्षरत हुथी विद्रोही समूहले दाबी गरिरहेको छ।

यद्यपि हुथी विद्रोहीको यस्तो दाबीलाई वासिङ्टनले इन्कार गर्दै ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गरिरहेको छ। तेहरानले ती आक्रमणमा आफ्नो संलग्नता नभएको दोहो¥याइरहेको छ। गत सेप्टेम्बर १४ मा विश्वकै ठूलो कच्चा तेल प्रशोधनस्थलमा ड्रोन हमला भएका थिए। जसका कारण साउदीमा ५० प्रतिशत तेल उत्पादनमा गिरावट आएको छ। 

‘साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा भएका ड्रोन हमलाको इरानको संलग्नता रहेको भन्दै हामीलाई उनीहरुले दबाब दिइरहेका छन्,’ इरानका राष्ट्रपति हसन रौहानीले भने, ‘हामी यस क्षेत्रमा कुनै पनि किसिमको तनाब नहोस् भन्ने चाहन्छौं तर द्वन्द्व कसले सिर्जना गर्दैछ ? वासिङ्टन र वासिङ्टन समर्थित खाडी मुलुकहरुले यमनमा आक्रमण गरेर युद्ध सिर्जना गरिरहेका छन्।’

विगत चार वर्षदेखि यमनमा इरान समर्थित हुथी विद्रोही समूह र पश्चिमा मुलुकको सहयोग प्राप्त साउदी गठबन्धनबीच युद्ध चलिरहेको छ। हुथी विद्रोही समूहले ड्रोनको प्रयोग गरेर साउदी अरबका राज्य सञ्चाललित कम्पनी अरामकोका दुई ठूला तेल प्रशोधनस्थलमा आक्रमण गरेको दाबी गरिरहेको छ। यद्यपि साउदी रक्षा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्रीले भने, ‘आक्रमण भएको स्थानबाट प्राप्त प्रमाण र प्रयोग गरिएका हतियारका आधारलाई हेर्दा ती घटनामा इरानको संलग्नता भएको देखिन्छ। यसको ठोस प्रमाण दिन हामी तयार छौं।’ उनले पत्रकार सम्मेलन गरेर त्यस्ता प्रमाण सार्वजनिक गरिने पनि बताए।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले विश्वका दुई ठूला कच्चा तेल प्रशोधनस्थमा गरिएका आक्रमणलाई निन्दा गर्न र अन्तर्राष्ट्रिय व्यवस्थालाई कायम गर्नका लागि ‘विश्व चाहनाको वास्तविक परीक्षण’समेत भएको बताएका छन्।

लन्डनका लागि राजकुमार सलमानका विशेष दूत युवराज खालिद बिन बान्दरले बिबिसीसँग बोल्दै आक्रमणमा इरानका संलग्नता रहेकोमा कुनै द्विविधा नरहेको जिकिर गरेका छन्। यद्यपि साउदी अरबले खाडी क्षेत्रमा थप द्वन्द्व नचाहेकाले पनि तत्काल यस विषयमा कुनै प्रतिक्रिया नजनाएको उनले दाबी गरेका छन्।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले कुनै पनि किसिमको युद्ध नचाहेको बताएका छन्। युरोप र खाडी मुलुकहरुबीच सहकार्य आवश्यक रहेकोमा समेत राष्ट्रपति ट्रम्पले जोड दिएका छन्। राष्ट्रपति ट्रम्पले बुधबार एउटा ट्विट गर्दै आफूले तेहरानलाई दबाब दिने उद्देश्यले थप प्रतिबन्ध लगाउन आदेश दिइसकेको बताएका छन्।

‘मैले इरानमाथि थप प्रतिबन्ध लगाउनका लागि अर्थमन्त्रीलाई आदेश दिइसकेको छु,’ उनले ट्विट गरेका छन्। यद्यपि उनले इरानमाथि के कस्तो प्रतिबन्ध थप गर्न आदेश दिइएको हो भन्नेबारे भने ट्विटमा उल्लेख गरेका छैनन्।

प्रकाशित: २ आश्विन २०७६ ०२:५५ बिहीबार

ठोस_प्रमाण तेल_प्रशोधनस्थल आक्रमण