अन्तर्राष्ट्रिय

चुनावी अभियान लक्षित विस्फोट, ४८ को मृत्यु

काबुल – अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

अफगानिस्तानमा मंगलबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी ती व्यक्ति मारिएका हुन्। स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २६ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको पुष्टि गरेको छ। त्यसैगरी काबुलको मध्यभागमा मंगलबार भएको अर्को विस्फोटमा पनि केही व्यक्ति मारिनुका साथै कैयौं सख्त घाइते भएका छन्। सो विस्फोटमा २२ जना मारिएको र ३८ जना घाइते भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
‘राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका छन्,’ पारवान अस्पतालका निर्देशक चिकित्सक अब्दुल कासिम सांगीनले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए।

विस्फोटका बेला राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा थिए। पारवान प्रान्तको चुनावी ¥यालीलाई लक्षित गर्दै मोटरसाइकलमा आएको एक व्यक्तिले आत्मघाती विस्फोट गराएको थियो भने काबुलको मध्य भागमा आयोजित चुनावी ¥यालीलाई लक्षित गर्दै एक व्यक्तिले आफूले आफैंलाई बमले उडाएको थियो। दुवै आत्मघाती विस्फोटको जिम्मेवारी अफगान तालिबान लडाकु समूहले लिएको छ। अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचन आउन ११ दिनमात्रै बाँकी रहेको छ।
क्याप्सन ः पारवान प्रान्तको मध्यभागमा मंगलबार गराइएको आत्मघाती विस्फोटपछिको दृश्य। तस्बिर ः एजेन्सी

 

प्रकाशित: १ आश्विन २०७६ ०६:१६ बुधबार

विस्फोट