अन्तर्राष्ट्रिय

‘म्यानमारमा अझैपनि जातीय संहारको खतरा’

यांगुन – रोहिन्जा मुसलमान समुदायका व्यक्तिमाथि म्यानमारमा अझै पनि जातीय संहारको खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले सोमबार दिएको जानकारी अनुसार देशबाट बाहिरनु पर्ने अवस्था फेरि दोहोरिन सक्ने सम्भावना अझैपनि रहेको छ ।

सत्यतथ्य पत्ता लगाउन म्यानमार आएको राष्ट्रसंघको मानवअधिकार परिषद्द्वारा गठित टोलीले सन् २०१७ मा सेनाले गराएको ‘जातीय संहार’ को पनि अध्ययन गरेको छ । सेनाको त्यस्तै व्यवहारका कारण झण्डै सात लाख ४० हजार व्यक्ति आफ्नो ठाउँमा बस्न नसकेर भागेका थिए ।

म्यानमारको सेनाले आफूहरुलाई आगजनी, हत्या, बलात्कार जस्ता क्रुर व्यवहार गरेको रोहिन्जाले बताएका छन् । सेनाका कारण आफ्नो ठाउँमा बस्न नसक्ने भएपछि आफूहरु भागेर शरणार्थीका रूपमा बस्न बंगलादेश आएको उनीहरुले बताउँदै आएका छन् ।

राष्ट्रसंघीय टोलीले म्यानमारमा रहेका झण्डै छ लाख रोहिन्जा समुदायका मानिस अझै पनि त्रसित र शोकमय अवस्थामा रहेको जनाएको छ । ‘म्यानमारमा बाँकी रहेका रोहिन्जा समुदायका व्यक्तिमाथी अझै पनि खतरा छ । उनीहरू त्रसित छन् ।  जातीय संहार हुने संभावना छ,’ अनुसन्धानकर्ताले भनेका छन् । उनीहरुले सोमबार म्यानमारमा तयार पारेको अन्तिम प्रतिवेदन बुधबार जेनेभामा पेश गर्ने भएका छन् ।

म्यानमारले ठिक नगरिरहेको, प्रमाण नष्ट गरिरहेको, पर्याप्त अनुसन्धानमा सहयोग गर्न अस्विकार गरिरहेको, विस्थापित रोहिन्जा समुदायप्रति जिम्मेवारीबोध नगरिरहेको पाइएको प्रतिवेदनमा लेखिएको छ ।  

ब्ंलादेशमा शरणार्थीको रूपमा बसेका रोहिन्जालाई स्वदेश फर्काउने बंलादेशको पछिल्लो प्रयास पनि असफल भएको छ । मुसलमान समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिन्जा समुदायका बासिन्दा सन् २०१७ देखि बंगलादेशमा शरणार्थी बन्न बाध्य छन् ।

उनीहरुलाई स्वदेश फर्काउन बंगलादेशले पटक पटक प्रयास गरेपनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरुले स्वदेश फर्किन अस्विकार गर्दै आएका छन् । आफूहरुलाई म्यानमारको नागरिकता दिने सुनिश्चितताको शर्त पनि उनीहरुले राख्दै आएका छन् ।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:०२ मंगलबार

म्यानमार संहार खतरा