अन्तर्राष्ट्रिय

आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, कम्तीमा १२ को मृत्यु, कैयौं बेपत्ता

नयाँ दिल्ली – भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डुंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।

गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुवाहक डुंगा आइतबार दुर्घटनामा परेको थियो । डुंगामा करिब ७० जना सवार रहेका थिए । भारतको दक्षिणी क्षेत्रमा रहेको पवित्र धार्मिक पर्यटकीयस्थलतर्फ गइरहेको सो डुंगा विशाल चट्टानसँग ठोक्किँदा दुर्घटनामा परेको भारतीय समाचार एजेन्सी पिटिआईसँग प्रहरीले बताएको छ ।

डुंगामा रहेका २६ जनालाई भने सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले पुष्टि गरेका छन् । करिब तीन सय व्यक्तिले डुंगा तथा हेलिकप्टरसमेतको प्रयोग गरी हराइरेहका व्यक्तिको खोजी कार्यलाई जारी राखेको पिटिआईले उल्लेख गरेको छ ।

हराइरहेकाको खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडिआरएफ) पनि संलग्न रहेका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुंगा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको गोदावरी नदीमा भएको डुंगा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राज्य सरकारका तर्फबाट जारी विज्ञप्तिमा मुख्यमन्त्री रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडिआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजिसी हेलिकप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएको पिटिआईले जनाएको छ ।

उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरुलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन् । सरकारले जिल्लास्थित सबै डुंगा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन दिएको बताइएको छ ।

प्रकाशित: ३१ भाद्र २०७६ ०५:४१ मंगलबार

आन्ध्र_प्रदेश बेपत्ता डुंगा_दुर्घटना