अन्तर्राष्ट्रिय

इरानमा तीन अस्ट्रेलियाली नागरिक पक्राउ

सिड्नी – तीन अस्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन्। इरानको राजधानी तेहरानमा पश्चिमा नागरिकलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको नीतिअन्तर्गत नै ती अस्ट्रेलियाली नागरिक पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ।

थुनामा राखिएका तीन अस्ट्रेलियाली नागरिकका परिवारलाई अस्ट्रेलियाको विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको जनाइएको छ। अस्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ। तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अस्ट्रेलियाले केही बताएको छैन।

बेलायती पत्रिकाले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अस्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो। थुनामा परेका मध्येकी एक जना महिला प्राज्ञिक क्षेत्रकी भएको पाइएको छ। ती दुई महिला महिनौंदेखि थुनामा रहेको सो पत्रिकाले हालैमात्र सार्वजनिक गरेको थियो।

अस्ट्रेलियाले यसै साताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकलाई सूचना जारी गरेको थियो। अस्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो। पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अस्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अस्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्री मोरिसनको उक्त प्रतिक्रियापछि आफ्ना नागरिक ती देशमा असुरक्षित होलान् भन्ने डरले ती देशमा भ्रमणमा नजान सूचना जारी गरेको बताइएको थियो।

पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ। यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशलाई पनि इरान र इराकले तारो बनाउने गरेका छन्। यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिक इरान र इराकमा असुरक्षित भइरहेका छन्।


 

प्रकाशित: २७ भाद्र २०७६ ०२:१८ शुक्रबार

पक्राउ अस्ट्रेलियाली_नागरिक