अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा हिंसा, सयौं विदेशीलाई सुरक्षित स्थलमा लगियो

जोहान्नेसबर्ग  (एजेन्सी) – दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको छ।

पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न सहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भड्किएको सरकारले जनाएको छ। विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका हुन्।

रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहान्नेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड सोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिएका छन्। उनका अनुसार त्यसरी राखिएकामा करिब २ सय २८ जना शरणार्थी बालबालिका पनि रहेका छन्।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो। विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए।

रक्षामन्त्री मापिसाका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब सातसय व्यक्तिलाई गिरफ्तार गरिएको छ। गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन्।

रक्षामन्त्री मापिसाले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताएका छन्। यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६ सय ४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कदै छन्।

रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक हैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०२:५१ बिहीबार

हिंसा विदेशी सुरक्षित_स्थल