अन्तर्राष्ट्रिय

युएईले भन्याे- यमन आक्रमण 'आत्मरक्षा'का लागि गरिएको हो

अबुधाबी– संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ। युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ।

यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ। 

सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ। युएईको विदेश मन्त्रालयले  गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ। 

यमनको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ। दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ। 

सरकारी फौजमाथि आक्रमण भयो– यमन
यमनको रक्षा मन्त्रालयले बिहीबार युएईको हवाई आक्रमणबाट करिब ३०० जना यमनी सुरक्षाफौजका सदस्यहरु मारिएका वा घाइते भएका जनाएको छ। 

एडेन र आसपासको क्षेत्रमा युएईले गरेको हवाई आक्रमणको यमनको रक्षा मन्त्रालयले भत्र्सना गरेको छ। 

एडेन र अब्यानमा गत बुधबारयता मात्र युएईले कम्तीमा १० पटक हवाई हमला गरेको थियो। यमनी सरकारी फौजमाथि साउदी अरेबिया समर्थित गठबन्धनले पनि आक्रमण गरेका छन्। 

यसैबीच, संयुक्तराष्ट्रसंघले यमनमा भएको पछिल्लो आक्रमणबाट कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको र कम्तीमा ७० जना घाइते भएको जनाएको छ। राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले एडेनका सडकहरु सुनसान भएका र स्थानीय विमानस्थलबाट सबै उडानहरु स्थगित भएको बताए। 

प्रवक्ता डुजारिकले यमन संकटमा तत्कालै चार अर्ब २० करोड डलर आवश्यक रहेको बताए। यमनमा करिब दुई करोड मानिसलाई मानवीय सहायता जरुरी रहेको राष्ट्रसंघको अनुमान छ। सिन्ह्वा

प्रकाशित: १३ भाद्र २०७६ ०९:२२ शुक्रबार

संयुक्त_अरब_इमिरेट्स_(युएइ) यमन आक्रमण आत्मरक्षा