अन्तर्राष्ट्रिय

कश्मीरको विषयमा प्रदर्शन गर्न पाकिस्तानी प्रमको आह्वान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान।

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले कश्मीरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन्। ‘म सबै पाकिस्तानीलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,’ खानले बिहीबार भनेका छन्। उनले प्रदर्शनमा उत्रिनु भनेको कश्मीरका जनताप्रति ऐक्यबद्धता जनाउनु भएको पनि जिकिर गरेका छन्।

‘हामी कश्मीरका जनताको पछाडि छौं भन्ने सन्देश कडा रूपमा दिन सक्नुपर्छ,’ प्रधानमन्त्री खानले गरेको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। उनले शुक्रबार संयुक्त रूपमा प्रदर्शनमा उत्रिन पटकपटक आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्रदर्शनको आह्वान गरेका हुन्।

प्रदर्शनमा उत्रिनु भनेको कश्मीरका जनताप्रति ऐक्यबद्धता जनाउनु भएको प्रधानमन्त्री खानले जिकिर गरेका छन्।

प्रधानमन्त्री खानले आउँदो महिना हुने राष्ट्रसंघीय महासभामा कश्मीरका जनताको पक्षबाट दूतका रूपमा आवाज उठाउने बताएका छन्। भारत र पाकिस्तानबीच कश्मीरको विषयमा लामो समयदेखि विवाद रहँदै आएको समय भारत प्रशासित कश्मीरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ। पाकिस्तानको पहलमा यो विषय राष्ट्रसंघीय सुरक्षा परिषद्मा पु¥याइएको छ।

भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा गत अगस्ट ५ का दिन निलम्बन गर्ने घोषणा गरेका थिए। सोही निर्णयअनुसार राष्ट्रपतिले कश्मीरलाई दिइँदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गरेका थिए। उक्त निर्णय भारतीय संसद्बाट पनि अनुमोदन भइसकेको छ। भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्बन्ध फेरि चिसिएको छ भने अन्य राष्ट्र पनि विभाजित भएका छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App