अन्तर्राष्ट्रिय

१८० आप्रवासीको उद्धार

त्रिपोली – पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार १ सय ८० गैरकानुनी आप्रवासीलाई उद्धार गरिएको छ। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले सो जानकारी दिएको हो।

युएनएचसिआरले एक ट्विटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको पनि जिकिर गरेको छ। गत अप्रिल महिनाको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न भएको सशस्त्र संघर्ष अझै जारी छ।

अप्रिलदेखि जारी द्वन्द्वमा हालसम्म एक हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने पाँच हजार ७ सयभन्दा बढी घाइते भएका छन्। पछिल्लो द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढी सर्वसाधारण आफ्नो घर छोड्न बाध्य भएको युएनएचसिआरलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

भूमध्यसागर पार गरेर गैरकानुनी रूपमा युरोप पुग्न चाहने अधिकांश आप्रवासीले लिबियाको बाटो प्रयोग गर्ने गरेका छन्। यद्यपि धेरै आप्रवासीको भूमध्यसागरमा जोखिमपूर्ण डुंगा यात्राका क्रममा दुर्घटनामा परेर ज्यान जाने गरेको छ। लिबियाको हालको राजनीतिक स्थिति र अराजकता आप्रवासीका लागि असुरक्षित भएको युएनएचसिआरले जनाउँदै आएको छ।

 

प्रकाशित: १० भाद्र २०७६ ०२:१९ मंगलबार

आप्रवासी उद्धार