अन्तर्राष्ट्रिय

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छः ट्रम्प

बियारिज– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ।

फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले संवाददातासँग भने, ‘गएराति चीनबाट फोन आयो।  उनीहरुको भनाई वार्ताको टेबलमा बसौं भन्ने छ। त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं।’

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए। अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ। 

तर, अमेरिकी गठबन्धनका मुलुकहरुले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन्। एएफपी

प्रकाशित: ९ भाद्र २०७६ १५:३१ सोमबार

चीन अमेरिका व्यापार_वार्ता डोनाल्ड_ट्रम्प