अन्तर्राष्ट्रिय

मापसे गरी सवारी चलाउने आठ हजार चालक पक्राउ

कोलम्बो – मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलंकामा आठ हजार जनालाई पक्राउ गरिएको छ। प्रहरीले सुरु गरेको विषेश कारबाही अभियानका क्रममा पछिल्ला केही सातामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन्।

गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विशेष अभियान देशव्यापी सञ्चालन गरेको छ। प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म आठ हजार एक सय ४७ जनालाई पक्राउ गरिएको उल्लेख छ।

सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परीक्षण गर्न देशभरीका सडकमा हजारौं प्रहरीको विषेश टोली खटाइएको छ।

प्रहरी प्रवक्ता एसपी रुवान गुणसखरले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलंकाली रूपैयाँ जरिवाना हुने जानकारी दिएका छन्। श्रीलंकामा गत वर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो।

प्रकाशित: २८ श्रावण २०७६ ०१:१४ मंगलबार

मादक_पदार्थ_सेवन मापसे चालक पक्राउ