अन्तर्राष्ट्रिय

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

हङकङ – सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

प्रदर्शनकारीले विमानस्थलभित्र अवरोध सिर्जना गरेको आरोप लगाउँदै सबै उडान स्थगन गरिएको हो । सरकार विरोधी हजारौं प्रदर्शनकारीले विश्वकै व्यस्तमध्येको एक हङकङ विमानस्थल भरिएका कारण अवरोध सिर्जना गरेको बताइएको छ । यात्रुहरुलाई सो विमानस्थल हुँदै यात्रा नगर्न भनिएको छ ।

विमानस्थलद्वारा जारी गरिएको एक विज्ञप्तिमा मानिस जम्मा भएका कारण विमानस्थल सञ्चालन कार्यमा गम्भीर असर परेको बताइएको छ । हङकङ विमानस्थल प्राधिकरणले जारी गरेको सो विज्ञप्तिमा उडान प्रक्रिया सुरु नभएका सबै उडान स्थगित गरिएको जनाइएको छ ।
विमानस्थल प्रशासनले स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजेबाट उडान सुचारु गर्ने विषयमा विभिन्न एयरलाइन्सहरुसँग छलफल चलिरहेको बताएको भए पनि हङकङमा पछिल्लो समय विकसित भएको अवस्थाले त्यो सम्भावना नरहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले ल्याएको विधेयकको विरोध गर्दै सुरु भएको प्रदर्शन नवौं सातामा आइपुग्दा विपक्षी र प्रहरी दुवै कडा हुँदै गएका कारण हङकङ समस्या तत्काल समाधान हुने सम्भावना निकै कम रहेको विश्लेषकहरुले बताएका छन् ।
उता, चीनले भने दुई महिनाभन्दा बढी समयदेखि जारी सरकार विरोधी प्रदर्शनका कारण हङकङ तहसनहस भएको र यसले विस्तारै ‘आतंकवादलाई विकास गरिरहेको’ आरोप लगाएको छ ।

चीनले आधिकारिक रूपमै केही प्रदर्शनकारीको गतिविधि आतंकवादसँग तुलना गरेका कारण हङकङमा आतंकवादविरुद्धको कानुन र शक्तिको व्यापक प्रयोग हुनसक्ने हङकङका केही कानुनी विज्ञहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । हङकङको अवस्था दिनप्रति दिन बिग्रदै गएपछि चीनको जन सशस्त्र प्रहरी पनि अभ्यासका लागि छिमेकी सेन्झेन सहरमा भेला भएको राज्य समर्थित ‘ग्लोबल टाइम्स’ पत्रिकाले उल्लेख गरेको छ ।

एसियाली आर्थिक केन्द्र हङकङका जनताले आइतबार पुनः सडकमा आएर प्रतिक्रिया दिएका थिए । उनीहरुले प्रहरी स्टेसन र मेट्रो स्टेसन अघि भेला भएर प्रदर्शन गरेको बताइएको छ । प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेको बताइएको छ । आइतबारको प्रदर्शनमा प्रहरीले नजिकैबाट अश्रुग्यास र अन्य कम घातक गोली प्रहार गरेको भिडियो सार्वजनिक भएपछि प्रदर्शनकारीले प्रहरीको आलोचना गरेका छन् । प्रहरीको बल प्रयोगका कारण आँखामा चोट लागेर रक्ताम्मे भएकी एक महिलासँग ऐक्यबद्धता जनाउन केही प्रदर्शनकारीले आँखामा पट्टी बाँधेर सोमबार प्रदर्शन गरेका छन् । कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ । यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ । विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध गर्दै आएका छन् । कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो । यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन् । तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ । यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री क्यारी लामको राजीनामाको मागसमेत गर्दै आएका छन् ।

प्रकाशित: २८ श्रावण २०७६ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App