अन्तर्राष्ट्रिय

तान्जानियामा तीन दिन राष्ट्रिय शोक

डोडोमा – तान्जानियामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। विस्फोटमा ७० जनाभन्दा बढी घाइते भएका थिए।

आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ। राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाउने भएको छ।  ‘शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,’ वक्तव्यमा लेखिएको छ। राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रूपमा प्रधानमन्त्री कास्सिम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी पनि दिएका छन्। घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ।

शनिबार राति प्रहरी अधिकारीले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएका छन्। अन्य केही सञ्चारमाध्यमले पनि मृत्यु हुनेको संख्या ६४ पुगेको लेखेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुको भनाइ छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:२४ सोमबार

पेट्रोलियम_पदार्थ राष्ट्रिय_शोक